बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।  माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुंगोमा पुगेका हुन् । 

उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् । 

२०७९ पुस २५ गते नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समीकरणबाट उनी मुख्यमन्त्री बनेका थिए । केन्द्रको समीकरण अनुसार बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत रहेकोले उनले विश्वासको मत नपाउने निश्चित छ ।

११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसन् पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
 

प्रतिक्रिया

सम्बन्धित