यी २० वर्षे युवकले हानेका थिए ट्रम्पलाई गोली

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको तस्बिर पनि सार्वजनिक भएको छ । बीबीसीले ट्रम्पको हत्या प्रयसा गर्ने युवक थोमस म्याथ्यु क्रुक्सको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिर उनको स्कुलको वार्षिक पुस्तकबाट लिइएको हो । क्रुक्स पेन्सिलभेनियामा ट्रम्पले आयोजना गरेको चुनावी र्‍यालीस्थलबाट एक घण्टा टाढा बेथेल पार्कमा बस्थे । तस्बिर सार्वजनिक हुनुअघि बेथेल पार्क हाई स्कुलले थोमस क्रुक्सले २०२२ मा त्यहाँबाट आफ्नो पढाइ पूरा गरेको पुष्टि गरेको थियो ।

थोमस क्रुक्सलाई पनि सुरक्षाकर्मीले गोली हानेर घटनास्थलमै मारिसकेको छ । बेथेल पार्कमा रहेका बीबीसी संवाददाता बर्न्ड डेबसम्यान जुनियरले सुरक्षाकर्मी र प्रहरीले थोमसको घरतर्फ जाने सबै बाटो बन्द गरेको र अनुसन्धान भइरहेको बताएका छन् । 

बीबीसीलाई प्राप्त जानकारीअनुसार थोमस क्रुक्स आफ्नो घर नजिकैको स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे । सुरक्षाकर्मीले घटनास्थलमा उनको कुनै परिचयपत्र फेला पारेनन् । त्यसैले उनको पहिचानका लागि डीएनए परीक्षण गरिएको थियो । अहिले एफबीआईले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित