१० खेलाडीमा सीमित हुँदा पनि उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । १५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । पहिलो हाफको ३९ औं मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो ।

पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन । कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ । कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित