डेडिकेटेड–ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले काटिदियाे रिलायन्सकाे बिजुली

इटहरी । नेपाल विद्युत् प्राधिकरणले तीनवटा उद्योगको बिजुली काटिदिएको छ। डेडिकेटेड र ट्रंकलाइनबाट वर्षौँअघि उपभोग गरेको बिजुलीको बक्यौता भुक्तानी नगरेको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिदिएको हो। 

ती उद्योगको बिजुलीको लाइन काटिएको प्राधिकरणका एक अधिकारीले बताए। यसअघि यही असार १० मा उद्योगहरुलाई पत्र काट्दै प्राधिकरणले बक्यौता महशुल तिर्न ताकेता गरेको थियो। उक्त अवधिमा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले विद्युत् लाइन काटिदिएको हो। 

प्राधिकरणले पत्रमार्फत उद्योगहरुलाई २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइनको महशुल दर थप दस्तुरसहित १५ दिनभित्र पठाउन भनेको थियो। उसले तोकिएको अवधिमा महशुल नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको थियो। 

प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई पठाएको ताकेतापत्रअनुसार उद्योगले ४४ करोड ८६ लाख ८ हजार ५ सय ६६ रुपैयाँ तिर्न २५ गतेसम्मको समय पाएको थियो। तर उद्योगले नतिरेपछि बिजुली नै काटिएको छ। 

यसअघि पनि ३३ वटा उद्योगहरुको बिजुली काटेको प्राधिकरणले ०८० पुसमा अधिकांशको लाइन जोडिदिएको थियो। उद्योगी र प्राधिकरणबीच डेडिकेटेड र ट्रंकलाइनको महशुल विवाद पछिल्लो समय सतहमा छ। प्राधिकरणका अनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब र त्यसयताको ८ अर्ब प्रिमियम शुल्क लिन बाँकी छ। यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित