२७ गते जारी हुने रिलायन्सको आईपीओ माथी प्रश्नै प्रश्न : रिसाए लगानीकर्ता ,

७ दिनभित्र जवाफ दिन धितोपत्र बोर्डलाई लेखा समितिको निर्देशन

इटहरी । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को अन्तिम चरणमा रहेको रिलायन्स स्पिनिङ्स मिल्सले तथ्यांकमा छेडखानी गरेको भन्दै लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेवोनमा ) उजुरी दिएका छन्।

लगानीकर्ताका ४ संगठनले गलत वित्तीय विवरणसहित आईपीओ निष्काशन गरेको भन्दै उजुरी दिएपछि बोर्डले छानबिन गर्न बैठक बोलाइसकेकाे छ । 

बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार लगानीकर्ताको उजुरीपछि बोर्ड बैठकबाट छानबिन गर्ने/नगर्ने निर्क्योल गरिने छ।‘अब हामी बोर्डको सञ्चालक समितिमा यो कुरा उठाउनेछौँ, त्यसपछि छानबिन गर्ने/नगर्ने निष्कर्ष निस्किन्छ’, उनले  भने। 

यसअघि असार १२ गते रिलायन्स स्पिनिङ मिल्सले संस्थापक सेयरधनी, सर्वसाधारण र वैदेशिक रोजगारीका लागि गएकाहरुका ११ लाख ५५ हजार ९६० कित्ता निष्काशनका लागि बोर्डबाट अनुमति पाएको थियो।

संस्थापकतर्फको सेयर निष्काशन गरिसकेको कम्पनीले वैदेशिक रोजगारीमा जानेहरुका लागि भने असार २७ गते आईपीओ निष्काशन गर्दै छ।  त्योसँगै कम्पनीले गलत तथ्यांक राखेको वित्तीय विवरण प्रकाशित गरी बोर्डलाई झुक्याएको भन्दै लगानीकर्ताले उजुरी दिएका हुन्।

यता संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)बारे ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ। समितिले मिल्सले सर्वसाधारणलाई बुक बिल्डिङबाट निष्काशन गर्न लागेको सेयरबारे स्पष्ट जवाफ दिन भनेको हो। 

समितिले कम्पनीको आधार मूल्य तय गरिएको आधार, मूल्य तय गर्ने अधिकारी र प्रक्रियाबारे जवाफ मागेको छ। त्यस्तै कम्पनीको वित्तीय विवरणमा पनि समितिले प्रश्न उठाएको छ। वित्तीय विवरणको प्रक्षेपण र वास्तविकता नमिलेको देखिएको समितिले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित