प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?

एजेन्सी । तौल घटाउन र कोलेस्ट्रोल–चिनी नियन्त्रणमा राख्न विश्वभर विभिन्न खालका व्रतका चलन बढेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू इन्टरमिटेन्ट फास्टिङ गर्न थालेका छन् । यो यस्तो खालको व्रत हो जसमा पौष्टिक चीजहरू निश्चित समयमा सेवन गर्नुपर्छ ।

उदाहरणका लागिः यसमा २४ घण्टामा १६ घण्टा भोकै बस्न र ८ घण्टामा केही हल्का खान सल्लाह दिइन्छ । तर सबै खालका मानिसलाई यस्तो प्रकारको फास्टिङ लाभदायक हुन्छ भन्ने छैन । हालै भएको एक अध्ययनमा अन्वेषकहरूले यो फास्टिङ बारे निकै ठुलो दाबी गरेका छन् ।

‘इन्टरमिटेन्ट फास्टिङ कयौँ प्रकारले लाभकारी मानिएको छ तर यदि तपाईंलाई मुटुको रोग छ र यस्तो खालको व्रत बस्नु भयो भने यसले प्राण नै जाने जोखिम बढाउन सक्छ ।’ भनेर अनुसन्धानकर्ताहरूले अनुसन्धान प्रतिवेदनमा भनेका छन् ।बिना डाक्टरको सल्लाह यस्तो खालको व्रत नबस्न स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै चिकित्सकको सल्लाहमा मात्र फास्टिङमा बस्न भनिएको छ ।

इन्टरमिटेन्ट फास्टिङबारे भएको अनुसन्धान

अमेरिकन हार्ट एसोसिएसन (एएचए)को सम्मेलनमा प्रस्तुत गरिएको शोधपत्रले इन्टरमिटेन्ट फास्टिङमाथि कयौँ प्रश्न उठाएको छ । मुटुसम्बन्धी समस्या भएका मानिसहरूका लागि यस्तो खालको व्रतले मृत्युको जोखिम ९१ प्रतिशतसम्म बढाउने बताइएको छ ।

इन्टरमिटेन्ट फास्टिङबारे अहिलेसम्म गरिएका अध्ययनका प्रतिवेदनहरू एकदमै विरोधाभासपूर्ण देखिन्छन् । यसअघि भएका अनुसन्धानहरूले इन्सुलिन संवेदनशीलता, सुनिन्ने, मोटोपना र कोलेस्ट्रोल जस्ता हृदय रोगका कारकहरूलाई कम गर्न फास्टिङको यो विधि लाभदायक हुने बताएका थिए । तर हालैका प्रतिवेदनहरूले यस प्रकारको व्रत हृदयाघातबाट हुने मृत्युको जोखिम बढाउन सक्ने बताइएको छ ।

एएचएको प्रतिवेदनको मुख्य कुरा

सम्मेलनमा प्रस्तुत गरिएको शोधपत्रको निष्कर्षलाई हेर्दा केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित भएका व्यक्तिका लागि इन्टरमिटेन्ट फास्टिङ हानिकारक हुने स्पष्ट छ । अध्ययनका अनुसार यसले हृदय रोग वा क्यान्सरबाट पीडित व्यक्तिहरूमा हृदयाघातको मृत्युको जोखिम पनि बढाउन सक्छ । हृदय रोगबाट पीडित व्यक्तिहरूमा इन्टरमिटेन्ट फास्टिङले हृदयाघात वा स्ट्रोकबाट मृत्युको जोखिम ६६ प्रतिशतसम्म बढाउन सक्छ ।

विज्ञहरूको आपत्ति

यी निष्कर्षहरू समयपूर्व र भ्रामक भएको स्ट्यानफोर्ड युनिभर्सिटीका मेडिसिन र न्यूट्रिशनिस्टका प्रोफेसर क्रिस्टोफर गार्डनर पीएचडी भन्छन् । अध्ययन समूहमा पुरुषहरू, अफ्रिकी अमेरिकी र धूम्रपान गर्नेहरू धेरै थिए ।यिनीहरूमा हृदय रोग र मृत्युको जोखिम पहिला नै उच्च हुन्छ । अन्वेषकहरूले सिफ्टमा गरिने काम, तनाव, र अन्य डाटाको कमी भएको गार्डनर भन्छन् । यस्तो अवस्थामा इन्टरमिटेन्ट फास्टिङलाई मात्र मृत्युको जोखिम कारक मान्न सकिँदैन भन्ने उनको तर्क छ ।

अनुसन्धानको प्रामाणिकतामाथि प्रश्न

क्यानाडाका प्रख्यात नेफ्रोलोजिस्ट र इन्टरमिटेन्ट फास्टिङमा पुस्तकका लेखेका डा. जेसन फङले पनि अध्ययनको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । कुनै खास जनसङ्ख्याको नतिजाका आधारमा यस्ता निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ । यो पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको उनी बताउँछन् । तर, महत्त्वपूर्ण कुरा चाहिँ के छ भने एउटै व्रतको विधि सबै मानिसका लागि उत्तिकै उपयुक्त हुन्छ भन्ने जरुरी छैन । पूरा जाँच गरेर अनि चिकित्सकको सल्लाहमा मात्रै यस्ता तरिकाहरू अपनाउनु पर्छ । हावाका भरमा यस्तो खालको व्रत बस्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित