सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, कोशी ब्यारेजको ३९ वटा ढोका खोलिए

इटहरी । सप्तकोशी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, ‘पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।’

वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित