बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?

इटहरी । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । साथै यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ । त्यस्तै, रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् । तस्बिरः विराट न्यौपाने / रासस

रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक, सिन्धुलीको सुनकोसी गाउँपालिका २ मा गएको पहिरोका कारण बिपी राजमार्ग र काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । मनाङको चामेमा बाढीका कारण चामे–वेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने तनहुँको आँबुखैरेनीमा पहिरोका कारण पृथ्वी राजमार्गमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित