झापामा श्रीमतीको हत्या गरेर श्रीमान फरार

झापा । झापामा एक महिलाको दिउँसै हत्या भएको छ । झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अनिशाको टाउकोमा फलामे हम्मरले हानेर हत्या गरिएको हो । अनिशाको हत्या उनकै श्रीमान सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन् । दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि छरछिमेकलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा भएको अनुमान गरिएको छ । सोही बेला सतिशलाई स्थानीयले अनिशाको घर आसपास देखेको बताएका छन् । अनिशा श्रीमान सतिशलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन् ।

अनिशा र सतिशबीच सम्बन्ध राम्रो नभएको बताइएको छ । सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेको स्थानीय बताउँछन् । उनीहरू सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक–पटक गाउँ छिमेकीमा यस विषयमा छलफल समेत भइसकेको स्थानीयले जानकारी दिएका छन् । अनिशाको माइती घर झापा गाउँपालिका–७ पर्छ । यता प्रहरीका अनुसार घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित