युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

एजेन्सी । जारी युरोकपमा आज (शुक्रबार) देखि क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् । आज क्वार्टर फाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो । त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै, ९ खेल बराबरीमा सकिएका छन् । युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

त्यस्तै, स्पेन १९८४ मा उपविजेता बनेको थियो । त्यसैगरी, यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित