खाेटाङमा ५८ वर्षीय शिक्षकबाटै १३ वर्षीया छात्रा बलात्कृत, पेटमा पाँच महिनाको गर्भ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ११ का शिक्षक शम्भुप्रसाद घिमिरे आफ्नै १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

छात्रालाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेका ५८ वर्षीय शिक्षक घिमिरेविरुद्ध आइतबार मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘आफ्नै शिक्षकले बलात्कार गरेपछि बालिकाको गर्भमा बच्चा बसेको रहेछ । बच्चा हुर्कदै गएपछि आफन्तले सोधीखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटक–पटक बलात्कार गरेको बताएकी रहिछन्,’ उनले सुनाए, ‘अनुसन्धानका लागि पक्राउ गरिएका शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ ।’

मुद्दा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन् । बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपसहित प्रहरीमा जाहेरी परेपछि प्रहरीले शिक्षक घिमिरेलाई शनिबार नै पक्राउ गरेको थियो । बलात्कार आरोपमा शिक्षकलाई पक्राउ गरिए लगत्तै बालिकालाई शनिबार नै उद्धार गरिएको प्रनाउ खड्काले बताए ।

उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकी बालिकाको उपचार सम्भव नभएपछि अस्पतालले आइतबार रिफर गरेको छ । बालिकाको पेटमा पाँच महिनाको बच्चा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । अस्पतालले रिफर गरेपछि आफन्तको जिम्मा लगाएर थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी गरिएको प्रनाउ खड्काले बताए । बालिकालाई सोमबार थप उपचारका लागि राजधानी काठमाडौं लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित