विशालसँगै कार दुर्घटनामा परेका सुशान कमेडी च्याम्पियनको स्टेजमा, भक्कानिए ऋचा र मनोज

इटहरी । गत चैत ९ गते फिल्म निर्देशक तथा रियालिटी सो कमेडी च्याम्पियनका च्याम्पियनका सञ्चालक विशाल भण्डारीसहित अन्य ६ जना सवार कार दुर्घटनामा परेका थिए, सुशान बस्याल।सुशान कमेडी च्याम्पियनकै सिजन २ मा प्रतिस्पर्धी थिए। उनी सिजन ३ मा पनि मेन्टर र असिस्टेन्ट डिरेक्टरको जिम्मेवारीमा टिमभित्रै थिए। चैत ९ गते शुक्रबार बिहानै ३ बजे भक्तपुरमा भएको दुर्घटनामा उनी गम्भीर घाइते भए। 

बस्यालको टाउकोमा चोट लागेको थियो। मध्यपुर ठिमी अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइएको थियो। निर्देशक भण्डारीले मादक पदार्थ सेवन गरी कार चलाएको अवस्थामा दुर्घटना भएको थियो। त्यही घटनामा भण्डारी केही समय प्रहरी नियन्त्रणमा पुगेका थिए। पछि उनको उपचार खर्च सबै भण्डारीले नै व्यहोरेका थिए। त्यसयता सार्वजनिक कार्यक्रममा बस्याल देखिएका थिएनन्। शनिबार अपरान्हबाट कमेडी च्याम्पियन सिजन-३ को ग्रान्ड फिनाले काठमाडौँमा भइरहेको छ। सोही कार्यक्रममा ‘गेस्ट पर्फर्मर’ बनेर प्रस्तुति दिएका बस्यालको उपस्थितिले माहोल भावुक बनायो।

बस्यालले आफ्नो पर्फमेन्सको अधिकांश समय सोही दुर्घटनाको पेरिफेरिमै बिताए। हाँसोठट्टाकै भावमा उनले दुर्घटनाका किस्साहरू सुनाए।त्यसपछि उनीबारे टिप्पणी गरेका निर्णायकहरू भावुक भए। ऋचा शर्मा र मनोज गजुरेल त उनीबारे टिप्पणी गर्दौगर्दै भक्कानिएर आँसु झार्न पुगे।ऋचाले बस्याललाई निर्देशक भण्डारीले दिएको साथको प्रशंसा गर्दै ‘धन्यवाद’ दिइन्। कार्यक्रममै पुगेकी उनकी आमालाई हेर्दै ऋचाले उठेर ‘नमन’ गरिन्।

लगत्तै, अर्का निर्णायक गजुरेलले आफ्नो छोरा पनि अहिले स्वास्थ्योपचारमा रहेको सुनाए। गजुरेलले आफ्नै छोरालाई बस्यालसँगै तुलना गर्दै आफूहरू सँगै अघि बढ्ने बताए। अन्य निर्णायकहरू प्रदीप भट्टराई र सन्तोष पन्तले उनले मृत्यु जितेर आउन सकेकोमा खुसी व्यक्त गर्दै उनको कलाको प्रशंसा गरे।‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए।

जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो। जसबाट टप ३०, १६ र १० हुँदै फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका छन्।सुनसरीका ऋषभ काफ्ले, काठमाडौँका सुनील खड्का र नवलपुरकी सुयाशा खनाल उपाधिको नजिक छन्।यी तीनमध्ये सर्वाधिक मत पाउनेलाई विजेता घोषित गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित