सर्वाधिक ओपनिङ गर्ने तेस्रो भारतीय फिल्म बन्यो प्रभासको ‘कल्की २८९८ एडी’

एजेन्सी ।  दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ।प्रभास स्टारर फिल्मले पहिलो दिन विश्वभरिबाट १८० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। योसँगै कल्की तेस्रो ठूलो ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। यो वर्ष भारतमा सबैभन्दा ओपनिङ गर्नेमा यो फिल्म पहिलो हो। 

घरेलु बक्सअफिसमा सबै भाषामा गरेर नेट ९५ करोड भारु कमाएको छ। तेलुगुतर्फ साढे ६४ करोड कमाउँदा तमिलमा ४ करोड, मललायममा साढे २ करोड र हिन्दीतर्फ २४ करोड भारु नेट कलेक्सन रहेको छ। ग्रस कलेक्सन भने ११५ करोड भारु रहेको छ। बिहिबार तेलुगुमा ८५ प्रतिशत अकुपेन्ची थियो। 

व्यापारका साथै यस समीक्षात्मक हिसाबले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। प्रभाससहित फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। विशेषगरि, अमिताभले निर्वाह गरिरहेको क्यारेक्टरको निकै चर्चा भइरहेको छ। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

ओपनिङ डेकोमा यस फिल्मले शाहरुख खानको ‘जवान’ ले बनाएको रेकर्डलाई पार गरेको छ, जवानले पहिलो दिनमा ७५ करोड भारु कमाएको थियो। साथै यसले यश स्टारर ‘केजीएफ च्याप्टर २’ को ओपनिङ ग्रस कलेक्सनको पनि रेकर्ड तोडेको छ। जसले विश्वभरि १५९ करोड कलेक्सन गरेको थियो। 

पहिलो दिन धेरै ओपनिङ गर्ने फिल्मको सूचीमा एसएस राजामौलीका फिल्महरु ‘बाहुबली २’ र ‘आरआरआर’ पर्छन्। ‘आरआरआर’ ले पहिलो दिन विश्वभरिबाट २२३ करोड भारु कमाउँदा ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड भारुको ओपनिङ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित