एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने ?

इटहरी । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बुधबार) सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने नतिजा ?

नेपाल टेलिकमले आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट नतिजा थाहा पाउन सकिने जानकारी दिएको छ । टेलिकमले बुधबार सूचना जारी गर्दै नेपाल टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसार गर्दा नतिजा प्राप्त हुने जनाएको छ ।

त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ । त्यस्तै नेपाल टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित