केराबारीमा विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो, सय मिटर तल भेटियो शव

इटहरी ।मोरङको कोरबारीमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङका अनुसार घटनास्थलबाट खोलाले बगाएर करिब एक सय मिटर तल पुर्याएको अवस्थामा शव भेटिएको छ ।

बालकलाई खोलाले बगाएको जानकारी पाउनसाथ स्थानीयले खोजी थालेका थिए । टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिहान ९ः५० बजेतिर शव फेला परेको वडाध्यक्ष तामाङले बताए ।मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ पुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्ने विद्यालयका प्रधानाध्यापक सुजन थेवेले बताए । उनका अनुसार २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि जाने गरेका छन् । याङ्शीला र चिउरी भञ्ज्याङ आसपासमा सोमबार रातिदेखि भीषण वर्षा भइरहेको थेवेले बताए । ‘खोला तर्ने क्रममा वर्षासँगै आएको बाढीले बगाएर बालकको मृत्यु भयो,’ उनले भने, ‘घटनापछि सिंगो गाउँ र विद्यालय शोकमा डुबेको छ ।’

प्रतिक्रिया

सम्बन्धित