झापामा मेलमिलाप समितिकाे फटाइ : मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जबरजस्ती जिम्मा लगाएपछि राजवंशीले गरे आत्महत्या

झापा । मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् ।

मेलमिलाप समितिका पदाधिकारीहरूले सोझा र निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गरेको छोरा पर्वलाल राजवंशीलको आरोप छ । बुबालाई आत्महत्या गर्न बाध्य बनाउने मेलमिलाप समितिका पदाधिकारीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय झापा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने उनले बताएका छन् ।

मृतक राजवंशी अरूको जमिनमा खेतीपाती र ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । उनी गाउँका सोझा व्यक्ति मानिन्छन् । गत असार ४ गते वडा कार्यालयको मेलमिलाप समितिमा उनको नाममा उजुरी परेको थियो । विष्ट थरको घरमा बसोबास गर्दै आइरहेकी अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी ३२ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लगाएर उनको नाममा उजुरी परेको थियो ।

‘उजुरीपछि मेलमिलाप समितिका सुरज रेग्मीलगायतले बुबालाई चर्को दबाब दिएर घटना घटाएको भनी स्वीकार गर्न लगाएको थिए,’ छोरा पर्वलालले भने, ‘बुबाले आफूले गलत काम नगरेको पटक पटक भन्दा पनि उनीहरू त्यसलाई मान्न तयार भएनन्, उनीहरूले छुट्टै कोठामा राखेर मानसिक दबाब दिइराखे ।’ परिवार तथा छरछिमेकले समेत उहाँले यस्तो गलत काम गर्न सक्नु हुन्न भन्दा पनि मेलमिलाप समितिले कुरै सुनेन । त्यो दिनको दबाबपूर्ण छलफलपछि समितिले आइतबार फेरि बोलायो ।’

आइतबारको छलफलमा पनि उनीहरूले एकतर्फी बुबालाई दवाव दिएको छोराले बताएका छन् । समितिका मान्छेहरूले अन्ततः सोमबार दिउँसो ३ बजेभित्र महिलालाई जिम्मा लिनु, नत्र प्रहरी कार्यालयमा बलात्कार मुद्दा लगाएर जेल हालिदिने धम्की दिएको मृतकका ज्वाइँ शेखरकुमार राजवंशीले बताए ।

‘घरको आँगनमा सुतिरहनु भएको थियो कति बेला घर नजिकै खेतको ग्वालीमा गएर झुण्डिनु भएछ,’ ज्वाइँ शेखरकुमारले भने । ‘बिहानदेखि नै परिवारका हामी सबै सदस्य तनावमा थियौं । ३ बजे महिलालाई जिम्मा लगाउने समय तोकिएको थियो । ‘ससुराले साढे १२ बजेतिर नै संसार छाडेर जानु भएछ,’ उनले भने । ‘यो आत्महत्या होइन, हत्या गराइएको हो । समितिका पदाधिकारीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

घटनापछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली पुग्दा मृतकका परिवारजनले शवलाई अवरोध गरेका थिए । उनीहरूले मेलमिलाप समितिका पदाधिकारीहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै अवरोध गरेका थिए ।त्यसपछि उनीहरू प्रहरी कार्यालय झापा पुगेर एसपी मिलन केसीसँग भेट गरेका थिए । एसपी केसीको आश्वासनपछि उनीहरूले शवलाई कानुनी प्रक्रियामा लैजान दिएको स्थानीयले जानकारी दि । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित