कोशीका मुख्यमन्त्रीविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा

इटहरी । कोशी प्रदेश सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । गत जेठ ३१ गतेको सनुवाइ हेर्दाहेर्दैमा सकिएपछि आज (असार ९) गतेका लागि पेसी तोकिएको थियो । आज पनि कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यो रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको पूर्ण इलजासमा सुनुवाइ भइरहेको छ ।

यसअघि गत जेठ ३१ गते पनि यिनै तीन न्यायाधीशको इजलासमा बिहीबार दिनभर सुनुवाइ भएको थियो । संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ २३ गते जटिल संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको औँल्याउँदै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ सांसदको समर्थन प्राप्त गरेका थिए । उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन् । उनलाई पनि धारा १६८ को उपधारा ५ अनुसार नै नियुक्त गरिएको हो ।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए । पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो । तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परे । २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । साथै प्रदेश सभाबाट नयाँ सरकार गठनका लागि संकल्प प्रस्ताव पनि पारित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित