केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

इटहरी । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली माग गर्दै दायर रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा सकिएपछि आजका लागि पेशी तोकिएको थियो ।

उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए। बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो। अब प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

केदार कार्की असोज २७ गते संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत पाएका उनले दोहोर्‍याएर विश्वासको मत लिनु नपर्ने जिकिर गरेका थिए । केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएपछि एमाले माओवादीले संकल्प प्रस्ताव प्रदेशसभाबाट निवर्तमान मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सन्देश दिएका थिए । संकल्प प्रस्तावले वैशाख २६ गतेभित्र विश्वासको मत लिन दिएको समय सीमामा विश्वासको मत नलिएपछि नयाँ सरकार गठनका लागि आव्हान भएको थियो ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि एमाले संसदीय दलका नेता हिक्मतले मुख्यमन्त्री दाबी गरेका थिए । उनले पछिल्लो पटक वैशाख २७ गते एमाले–माओवादीका सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएर विश्वासको मत समेत पाइसकेका छन् । कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवती रमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाललाई विपक्षी बनाएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित