युरोकप : पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा, टर्कीलाई शानदार हरायो

एजेन्सी । लगातार दोस्रो जित निकाल्दै पोर्चुगल समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३–० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १–१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । नुनो मेंडेसको क्रस टर्किस डिफेन्डरलाई लागेर बक्स भित्रबाट सिल्भाको अघि पुगेपछि उनले गोल गरेका थिए ।

२८औं मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो । टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेको थियो । पोर्चुगलको तेस्रो गोल ५६औं मिनेटमा ग¥यो । जोआओ क्यान्सेलोको थ्रु–पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए । फर्नान्डेजले सहजै गोल गर्न सफल रहे ।

जितपछि समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ । टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १–१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् । गए राति नै भएको अर्को खेलमा बेल्जियमले रोमानियालाई २–० ले पराजित गरेको छ । समूह ईमा रहेका यी दुई टोलीको समान २–२ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित