इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर

इटहरी : इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेतीखोलाको सीमा छुट्टाउने नापजाँचलाई तीव्रता दिएको छ । उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेतीखोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो । इञ्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारीसहितको नापजाँच टोली एक महिनादेखि इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् ।

टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफलभएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैलीमा खेती खोलाभित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाइ गर्ने बताएको छ । इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेतीखोला हराउँदै गएको छ । सिमाना हराउँदै गएको खेती खोलाको सीमा खोजी गर्न प्राविधिक टोली खटिएको छ ।

दुई सय ४८ घर भत्किने

अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययनअनुसार खेती खोलामा दुई सय ४८ घर भत्किनेछन् । ती घरहरू खोलाको जग्गामा बनेका छन् । यो तथ्याङ्क नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरदेखि दक्षिण सिचाइको नहरसम्म र उत्तरतर्फ हलगडासम्म नापजाँच गर्दाको हो । पृतना हेडक्वाटरदेखि दक्षिण सिँचाइको नहरसम्म दुई सय २० घर भत्किने अवस्थाका छन् । उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ ।

त्यस क्षेत्रमा नापजाँच चलिरहेको हुँदा यसतर्फ पनि भत्किने घरको संख्या बढ्न सक्ने उपमहानगर स्रोतले जनाएको छ । खोलाको क्षेत्राधिकार भित्र साना कच्ची घरदेखि ठूला आरसिसी घरहरू पनि छन् । यस्ता घरहरूमध्ये केही घरहरू नक्सापास भएका घरहरू भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए । यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोलाभित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ ।

कसरी हुँदैछ नापजाँच

इञ्जिनियर, सर्भेयर, अमिनसहितको २२ जनाको टोली अहिले खेती खोलाका झाडी पन्छाउँदै खोलाको क्षेत्राधिकार र निजी जग्गा छुट्टाउँदै छन् । टोलीले खोलाको क्षेत्र र व्यक्तिको निजी जग्गा तथा घर छुट्टाएर चिह्न लगाउँदै छन् । प्राविधिक समितिले दुई किसिमले काम गरिरहेको वातावरण शाखाका प्रमुखसमेत रहेका चौधरीले बताए । उनका अुनसार जिल्ला नापी कार्यालयबाट प्राप्त भएको नक्साको आधारमा खोलाको क्षेत्राधिकार जाँच गरिदैँ छ । जसमा खोलाको क्षेत्राधिकारभित्र परेका घरहरूलाई रातो रगंले चिह्न लगाइएको संयोजक चौधरीले जानकारी दिए ।

अर्कोतर्फ प्राविधिक टोलीले हाल बगिरहेको खेती खोलाको आधारमा सँगै जाँच गरिरहेको छ । खोला बगिरहेको खोलाको आधारमा खोलाभित्र परेका घरहरूलाई भने पहेँलो रङले चिह्न लगाइएको छ । एकैपटक दुई वटै तरिकाले नापजाँच भइरहेको संयोजक चौधरीले जानकारी दिए । अहिलेसम्म नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटदेखि दक्षिणतर्फ सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरसम्म नापजाँच भइसकेको छ । त्यस्तै, पृतना हेडक्वाटरदेखि उत्तरतर्फ हलगडा सम्म नापजाँच भएको छ ।

नापजाँच गरिसकेपछि प्राप्त भएको तथ्याङ्क तथा अध्ययनको निष्कर्षसहितको प्रतिवेदन उपमहानगरमा बुझाइने र यसका लागि करिब तीन साता समय लाग्ने चौधरी बताउँछन् । प्रतिवेदन प्राप्त भएपछि उपमहानगरले दोस्रो चरणको काम सुरु गर्ने उनले स्पष्ट पारे ।

५० वर्षको पानीको तथ्याङ्क अध्ययन

सहर बीचबाट बग्ने खेती खोला हेर्दा सानो देखिन्छ । तर, वर्षाको समयमा ठूलो बाढी आउँछ । खासमा खेती खोलामा कति पानी बग्छ त ? यसबारे अध्ययन भइरहेको उपमहानगरले जनाएको छ । पछिल्लो ५० वर्षमा कति र कुन तहसम्म पानी बग्यो त्यसको प्राविधिक अध्ययन गरिरहेको अध्ययन समिति संयोजक चौधरीले जानकारी दिए ।

‘खेतीखोलामा पछिल्लो ५० वर्षमा बगेको पानीको ट्रेन्ड के छ पत्ता लगाउने प्रयास गर्दै छौँ । पानीको ट्रेन्ड पत्तालगाएर आउने समयमा कति पानी बग्न सक्छ भनेर अध्ययन गरिरहेका छौँ ’ चौधरीले भने । खेती खोलामा कति सम्म पानी बग्यो र अब कति मात्रामा पानी बग्न सक्छ भन्ने तुलनात्मक अध्ययन पछि मात्रै खोलाको चौडाइ किटान गर्ने उपमहानगरको योजना छ ।

‘पाएसम्मको पानीको तथ्याङ्क, यहाँका पुराना रैथाने बासिन्दा, किसानहरूसँग कुराकानी गर्दै अध्ययन गरिरहेका छौँ,’ उनले थपे ।  खेती खोलाको चौडाइ कति तोक्ने भन्ने विषयमा फरक मत रहँदा यो विश्लेषणले सहयोग गर्ने संयोजक चौधरीको भनाई छ ।

संरचना हटाउन उपमहानगरको ताकेता

उपमहानगरपालिकाले खेती खोलामा बनेका संरचना हटाउन दोस्रो पटक १५ दिने सूचना जारी गरेको छ । ज्येष्ठ २० गते दोस्रो पटक भन्दै १५ दिने सूचना निकालेको उपमहानगरले पहिलो ३५ दिने सूचना वैशाख २५ गते नै प्रकाशन गरेको थियो । संरचना हटाउन उपमहानगरले पटकपटक सूचना जारी गर्दै तोकेता गरिरहेको छ । खोला अतिक्रमण गरेर बनेका संरचना नहटाए डोजर चलाउने उपमहानगरले सार्वजनिक सूचनामार्फत सचेत गराएको छ ।

खेतीखोलाको दुवै किनारबाट ६/६ मिटर छोडेर भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए । टेँग्रा खोलाको तुलनामा खेती खोला अतिक्रमण गर्ने घर धुरीको संख्या ठूलो निस्कने देखिएको छ । त्यसकारण पनि उपमहानगरले पटकपटक सूचना प्रकाशन गरी घरधनीलाई आफैँ संरचना भत्काउन ताकेता गर्दै आएको छ ।

दीर्घकालीन समाधान

इटहरीको डुबान रोक्न खेती खोलाको अतिक्रमित क्षेत्रलाई क्लियर गर्नैपर्ने संयोजक चौधरी बताउँछन् । २०७४ र २०७८ को वर्षा र त्यस बेलाको बाढीलाई हेर्ने हो भने आर्मी ब्यारेक माथि पट्टि र दक्षिण तर्फ धेरै भौतिक क्षति भएको थियो । त्यसबेला बजार क्षेत्रका धेरैको पसलभित्र पानी पसेर सामान नष्ट भएको र यस्तो समस्या बारम्बार दोहोरिरहेको उनको भनाइ छ । चौधरीले भने ‘यसको दीर्घकालीन समस्या समाधानका लागि कम क्षति हुनेगरी खोलालाई क्लियर गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित