भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य शहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको बताए । भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ ।

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ । हाल ४७० गाउँ पानीमा डुबेका एएसडीएमएले जनाएको छ ।

स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताए । तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसंख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताए । गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको छ ।  

प्रतिक्रिया

सम्बन्धित