वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म

अबकाे ३ वर्ष भित्र समस्त वडाकाे मुहार फेर्छु

इटहरी । व्यापारिक हबको रूपमा विकास भइरहेको सहर, इटहरी । यसको मुख्य बजार क्षेत्रमै पर्छ वडा नम्बर ६ । सहरको बिचोबिच रहेको वडामा सडक सञ्जाल,शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सबै सुविधा उपलब्ध छ । अन्य वडालाई यी पूर्वाधार पु¥याउन हैरानी छ । 

तर, यो बनी बनाऊ वडा यहाँ गर्नुपर्ने खासै केही छैन । सबैलाई यस्तै लाग्न सक्छ । तर वडा नम्बर ६का अध्यक्ष दिवस पोख्रेल भन्छन्, ‘यहाँ त गर्नुपर्ने धेरै काम रहेछ ।’बाहिरबाट हेर्नु र कुर्सीमा बसेर काम गर्नुमा धेरै अन्तर रहेछ पोख्रेलले भने,‘ गर्नै नचाहनेलाई त यहाँ सबै पुगेकै छ तर केही गर्छु भन्नेलाई कामै काम छ । काम पो कति गर्न सकिने हो ?’

वडा अध्यक्ष पोख्रेल प्राय बजार क्षेत्रमै भेटिन्छन् । राती अबेर सम्म पनि काममै खटिएका हुन्छन् । बिहानै मर्निङवाकमा पनि कहाँ के भयो भन्दै हिँडिरहेका भेटिन्छन् । वडा अध्यक्ष भएपछि उनका लागि चुनौती थियो मुख्य बजारलाई डुबानबाट कसरी बचाउने । त्यो चुनौती अहिले पनि छ । डुबान रोक्न रोकिएका ब्लकेज खोल्ने काम पोख्रेलले सुरु गरे । बषौँ देखी पुरिएका ड्रेन उनले सफा गरे । 

 निर्वाचित भएपछि सुरु भएको ड्रेन सफाइ अभियान अहिले पनि जारी छ । भर्खरै मात्र सङ्गीत चोक जाने बाटोमा लामो समय देखी अतिक्रमित रेडक्रस भवन भत्काएर बेलाहा पैनी सफा गरिएको छ । पैनी माथि बनेका घरहरू पनि भत्काएर सफा गर्ने काम निरन्तर चल्ने अध्यक्ष पोख्रेल बताउँछन् । 

ट्राफिक लाइट र पार्किङ 

बढ्दो ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा कोसी प्रदेशमै पहिलो पटक इटहरीमा ट्राफिक लाइट जडान भयो । वडा अध्यक्ष पोख्रेलकै अगुवाइमा ट्राफिक लाइट जडान भएको हो । 
मुख्य चोकमा सडक नै ढाकेर सवारी साधनको पार्किङले सहर कुरूप र थप साँघुरो बने पछि पार्किङलाई रिजालटाँसिमा स्थानान्तरण गरिएको छ । अहिले मुख्य चोक सफा देखिन थालेको छ । 

डिजिटल इटहरीको सुरुवात 

इटहरीमै पहिलो पटक वडा नम्बर ६ले डिजिटल नम्बर प्लेट वडावासीलाई वितरण गरेको छ । व्यवसायीक हब भएकाले यो आवश्यक पनि हो । गुगलको प्लस कोड अनुसार डिजिटल नम्बर प्लेट वितरण गरिएका कारण सहजै घर तथा ठाउँ पहिचान गर्न सजिलो भएको छ । यसलाई विस्तार गर्दै डिजिटल सेवा थप विकास र विस्तार गर्ने वडा नम्बर ६ले बनाएको छ । 

भौतिक पक्षमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गरेको वडा अध्यक्ष पोख्रेल बताउँछन् । ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घर घरमै पु¥याउने व्यवस्था मिलाएको उनले बताए । बैङ्कसँगको समन्वयमा बैङ्कले नै अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई घरमै भत्ता वितरण हुने गरेको छ । 
ज्येष्ठ नागरिकहरूका लागि वडा कार्यालय नजिकै भवन पनि बनाइदिएको अध्यक्ष पोख्रेलले बताए । उपमहानगर र वडाको संयुक्त लगानीमा भवन निर्माण गरिदिएको उनले जानकारी दिए । 

अबको ध्यान सहरको सौन्दर्यकरणमा हुने अध्यक्ष पोख्रेल बताउँछन् । यसको सुरुवात उनले खेती खोलाको किनारबाट गरेका छन् । नमुनाको रूपमा १ सय मिटर क्षेत्रफलमा खेतिखोला किनारमा रेलिङ लगाइएको छ,सडक बत्ती जडान गरिएको छ, । उपभोक्ता समिति मार्फत यो काम भएको हो । 
आगामी वर्ष इटहरीको मुख्य बजार भएर बग्ने टेँग्राखोला कोरिडोरलाई सौन्दर्यीकरण गरिने उनले योजना बनाएका छन् । 

मुख्य हाइवे क्षेत्रमा भने सौन्दर्यीकरणको काम गर्न समस्या भएको उनले बताए । सडक विस्तारको कामले समस्या भएको उनको भनाई छ । दिवस पोख्रेल वडा अध्यक्षमा निर्वाचित भएको २ वर्ष पुरा भएको छ । उनै वडा अध्यक्ष दिवस पोख्रेलसँग उनले गरेका कामको विषयमा गरिएको कुराकानी ।

इटहरी वडा नम्बर ६ कस्तो वडा हो ? 

इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्छ,वडा नम्बर ६ । व्यस्त सहरको बिचमा रहेकोले मानिसहरूको आउने जाने क्रम हुँदा अलि बढी भिडभाड हुने गर्छ । दैनिक १ लाख मानिसहरूको आवतजावत हुन्छ । व्यवसायीक र आर्थिक कारोबारको केन्द्र पनि हो । व्यापार व्यवसाय, बैङ्क वित्तीय संस्था तथा अन्य विभिन्न सामाजिक सङ्घसंस्थाका र सरकारी कार्यालय प्रदेश कार्यलयहरु पनि रहेका छन् । १ हजार ८ सय ४० घरधुरी सङ्ख्या छ भने यस वडामा ४ हजार ७ सय १५ मतदाता छन् । सबै जातजाति, धर्म सम्प्रदायका मानिसहरू मिलेर बसेका छन् ।  

इटहरीको व्यस्त बजार भिडभाड धेरै हुन्छ ? यसलाई व्यवस्थापन गर्न वडा के के गर्नुभयो ?

मैले अघि पनि भने यो वडा व्यस्त बजार क्षेत्रमा पर्छ । सवारी साधनको बढी भिडभाड, मानिसहरूको बढी आवत जावत हुने भएकाले दिनभर जसो नै व्यस्त हुन्छ । वडा कार्यालयले ट्राफिक व्यवस्थापनका लागि समन्वयकारी काम गर्दै कोसी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गर्ने काम भयो । 

प्रदेश सरकारले दिएको साढे २६ लाख पैसाको लागतमा मुख्य चौकमा ट्राफिक लाइट जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको छ । सडक ढाकेर पार्किङ गर्दा सहर अस्तव्यस्त भएपछि मुख्य चौकको पार्किङलाई रिजालटाँसी अगाडी स्थानान्तरण गरेका छौँ । यसले पार्किङको समस्या केही कम भएको छ । पार्किङको समस्या समाधानका लागि मुख्य चौक देखी ३ सय मिटर वरपर पार्किङ निषेधितको नीति अवलम्बन गरिएको छ । यसले मुख्य चौकमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । 

अर्को,बाटो नै साँघुरो हुने गरी केही घरहरूले सडकको क्षेत्राधिकार नै मिचेर भौतिक संरचना बनाएका थिए । विराटनगर लाइनका घरबेटीसँग समन्वय गरी उहाँहरूकै सहयोगमा अतिक्रमित घर भत्काएर बाटो क्लियर गर्ने काम गरेका छौँ । भित्री सडकहरूमा पनि व्यवसायी साथीहरूले सामानहरू सडकमै राखेर व्यापार व्यवसाय गर्ने गरेको अवस्था थियो । व्यवसायीहरूसँग छलफल गरी सडक र फुटपाथ क्लियर गर्ने काम गरेका छौँ । 

वर्षाको समयमा इटहरी सधैँ डुबान हुन्छ, विशेष गरी मुख्य चौक क्षेत्र र नगरपालिका गेट अगाडी डुबान हुन्छ ? डुबान नियन्त्रणका लागि के कस्ता काम भयो ? 

प्राय पुराना अव्यवस्थित हिसाबले बनेका घर तथा भौतिक संरचनाले गर्दा पानीको बहावमा समस्या हुँदा बजार डुब्ने समस्या छ । त्यसका लागि हामीले ड्रेन पैनी सरसफाइको कामलाई तीव्रता दिएका छौँ । बषौँ देखी सफा नगरिएका ड्रेनहरू हामी आएपछि सफा भए ।  जसले ड्रेन एरियामा ब्लकेज गरेर घर बनाएका छन्, पैनी माथि बनेका घरहरू छन् । त्यसलाई भत्काएर सफा गर्ने काम निरन्तर गरिरहेका छौँ । भर्खरै मात्र पनि इटहरीको मुख्य चोकबाट सङ्गीत चोक जाने बाटोमा अतिक्रमित रेडक्रस भवन भत्काएर पैनी सफा गर्ने काम भएको छ ।

त्यस्तै आर्मी क्याम्प अगाडीबाट आएको पानीलाई व्यवस्थित गर्न ड्रेनेजको काम जारी छ । प्रदेश सरकारले दिएको ७२ लाखको लागतमा २ सय मिटर लम्बाइको बेलाहापैनीलाई ड्रेन लगाएर स्लाब बनाउने काम जारी छ । यो बनेपछि पानीलाई हाइवेको मुख्य ड्रेनमा लगेर मिसाए पछि डुबानको समस्या घट्नेछ । यस्तै अन्य साना ठुला पैनीका ब्लकेज खोल्ने काम गरेका छौँ । वि.पी चोकमा पनि ठुलो कलर्भ निर्माण गरिएको छ ।

उपमहानगरको गेटमै ठुलो पानी पर्दा जम्मा हुने समस्या थियो । हामीले त्यहाँ कटिङ गरेर भित्र पाइप मिच्छाएर पानी निकास हुने बनाइएका छौँ । पानी पर्दा जम्मा हुन्छ तर धेरै समय जम्मा हुँदैन बगेर जान्छ । यो सिस्टम अनुसार २ ठाउँमा काम गरेका छौँ । अन्य २ ठाउँमा काम गर्न बाँकी छ । 

अन्य वडा भन्दा फरक काम चाहिँ के भयो ? 

वडा नम्बर ६ व्यवसायीक हब भएको हुनाले कतिले सामान ढुवानी गर्नुपर्ने हुन्छ । व्यवसायीहरूले सामान डेलिभरी दिनुपर्ने हुन्छ । लोकेसन थाहा नहुन सक्छ । यस्का लागि हामीले प्लस कोड सहितको डिजिटल नम्बर प्लेट वितरण गरेका छौँ । केही बाँकी छ त्यो पनि वितरण गर्ने तयारीमा छौँ । डिजिटल नम्बर प्लेटमा गुगल प्लस कोड हुन्छ । जसका आधारमा अनलाइनबाट सजिलै घर पत्ता लगाउन सकिन्छ । 

बजारमा सिसिक्यामरा र रात्रि लाइट लगाउने काम सुरु भएको थियो त्यसमा कति काम भयो ? 

यसमा धेरै काम भएको छ । लगभग अब ६ नम्बर वडालाई सिसिक्यामराबाट कैद गर्न सफल भएका छौँ । इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थलमा सिसिक्यामरा जडान भएको छ । ६ नम्बर वडाका भित्री सडकहरूमा पनि सिसिक्यामरा जडान भएका छन् ।सबै ठाउँमा गरी ९६ वटा क्यामरा जडान भएका छन् ।

सिसिक्यामरा अपराध नियन्त्रणमा पनि काम आउन थालेको छ । सि सी टिभी फुटेज हेरेर धेरै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बजारमा कुनै घटना भएको अवस्थामा सिसिक्यामराको फुटेज हेरेर तुरुन्तै छानबिन गर्ने र संलग्न मानिसलाई पक्राउ गर्न सफल भएको छ । 
सडकका पोलमा पुराना चिमहरू बिग्रिएको, राती नबल्ने समस्या थियो । पुराना बत्तीहरूलाई परिवर्तन गरी सेन्सर लाइट लगाएका छा्रँै ।

ठाउँ ठाउँमा टावर बत्ती पनि जडान गरिएको छ । उज्यालो वडा नीति लिएर काम गरिरहेका छौँ ।  तपाईँहरूले मुख्य बजार क्षेत्रमा रातीको समयमा हिँड्दा यो अनुभव गर्न सक्नुहुन्छ ।   

इटहरी बजारको शौचालयको समस्या कसरी समाधान गर्नुभयो ? 

यो विषयमा धेरै गुनासो पनि आयो । बजार क्षेत्रमा किनमेलका लागि आउने,यात्रु तथा बाटो हिँड्ने बटुवाहरूका लागि सार्वजनिक शौचालय निर्माण गरेका छौँ । उपयुक्त जग्गाको खोजी गरी इटहरीको मुख्य चौक आकेश कलेक्सन अगाडी सार्वजनिक शौचालय निर्माण गरिएको छ । यस्तै विशाल बजार भित्र पनि घरबेटीसँग समन्वय गरी त्यहाँ पनि शौचालयको व्यवस्थापन गरिएको छ । 

शिक्षाको क्षेत्रमा वडाले केके काम गरेको छ ? 

यस वडामा २ वटा सामुदायिक र ११ वटा निजी गरी जम्मा १३ वटा विद्यालयहरू छन् । विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा काम भएको छ । कबीर मा.वि साँघुरो भएको, पुरानो टिनको छानो भएको भवन जीर्ण अवस्थामा थियो । विद्यार्थीहरूले राम्ररी बसेर पढ्ने नभएपछि हामीले त्यहाँ ३ वटा कोठा भएको एउटा ब्लक पक्की भवन बनाईदिँदैछौँ । निर्माणको काम जारी छ । उपमहानगरले गुणस्तर सुधारका लागि छुट्टै योजना नै सार्वजनिक गरिसेकेको छ । हामीले पनि नगरको योजना अनुसार नै काम गर्दै छौँ । 

स्वास्थ्यका क्षेत्रमा केके काम भए ? 

स्वास्थ्य क्षेत्रमा हामीले पहिलो पटक स्तन क्यान्सर परीक्षण शिविर आयोजना गयौँ । काठमाण्डौँबाट मेडिकल टिम बोलाएर महिलामा हुने स्तन क्यान्सरको जोखिम पहिचान गर्न मेसिन मार्फत क्यान्सर परीक्षण गरियो । यसमा करिब ४ सय महिलाको स्तन परीक्षण गरियो । जसमा १६ जनामा समस्या पहिचान पनि भएको थियो । 
यस्तै वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र मार्फत नियमित रूपमा जाँच र आवश्यक औषधी वितरण गर्ने भइरहेको छ । नगर बासीले माग गरे अनुसार स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौँ । 

तपाई खेल प्रेमी हुनुहुन्छ, आफै पनि खेल खेलिरहनुहुन्छ, खेलकुद क्षेत्रको विकासका लागि चाहिँ के के गर्नुभयो ?  

उत्कृष्ट खेलाडी तथा खेलसँग जोडिएका महानुभावहरू फुटबल, भलिबल, मार्सल आर्ट  लगायतका खेलसँग जोडिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेका छौँ । खेलका लागि चाहिने, कार्यक्रमका लागि चाहिने सामाग्रीहरू वितरण गर्ने गरेका छौँ । जति पनि खेल प्रतियोगिताहरू सञ्चालन हुन्छन्, अवस्था हेरेर आवश्यक आर्थिक सहयोग पनि गरेका छौँ । ग्रास रुट कार्यक्रम जसले तल्लो तहबाट खेलाडी उत्पादन गर्छ, सो कार्यक्रमका लागि वडाले छुट्टै सहयोग गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित