माेरङकाे रतुवामाई सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरण : वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिका–६ का अध्यक्ष तुलाराम लुइँटेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा कार्यालयबाट वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकमको अपचलन भएको उजुरी आयोगमा परेको थियो ।

आयोगले वडाध्यक्ष लुइँटेलविरुद्ध एक लाख ६० हजार, रतुवामाईका तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, रतुवामाई नगरपालिका–६ का मेगदीप पोखरेल र तारादेवी पोखरेलविरुद्ध एक लाख ४४ हजार तथा रतुवामाई– ६ की भक्तकुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र तत्कालीन नायब सुब्बा (नासु) रमेश कोइरालाविरुद्ध गलत लिखतसम्बन्धी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायको मागदाबी आयोगले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित