ताप्लेजुङ पहिरो : गाउँपालिका उपाध्यक्ष रविनले गुमाए बुबा–आमा र जुम्ल्याहा बहिनी

ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका चार जनाले ज्यान गुमाएका छन् । फक्तालुङ–२ खेजेनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका बाबु, आमा र जुम्ल्याहा बहिनीहरुको मृत्यु भएको हो ।

फक्ताङलुङ–२ खेजेनिममा राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर बुबा ७१ वर्षीय रामबहादुर लिम्बू, आमा जसमाया लिम्बू र बहिनीहरु १२ वर्षीया गंगा लिम्बू र जमुना लिम्बूको ज्यान गएको हो ।

जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बू भने घर बाहिर रहेकाले जोगिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यका अनुसार राति २ बजेतिर पहिरो खसेका कारण घरमै पुरिएका हुन् ।

उनले घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताए । पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । बुधबार राति मात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित