ताप्लेजुङको सिसेवा खोलामा आएको बाढीले पुल बगायो, सडक अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।

वर्षासँगै बिहीबार बिहान आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् । सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् । तमोर नदीबाट पानीको निकास भइरहेकोले नदीको ड्यामले ठूलो क्षति पुर्‍याउन भने नसक्ने उनले आंकलन गरेका छन् । पानीको ड्याम बढे तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने वडाध्यक्ष देउप्रसाद बताउँछन् ।

तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीकाअनुसार कति पुल बगायो भन्ने अध्ययन भइरहेको छ । ‘खोला पाथीभरा छेउदेखि नै आउने र थुप्रै अस्थायी पुल भएकाले सोधीखोजी गरिरहेका छौं,’ सिंजालीले सुनाए, ‘गाउँपालिका छेउका अस्थायी पुलहरु भने बगाएको छ ।’ खोला पारीको गाउँबाट आउने २५ देखि ३० जना विद्यार्थीलाई पानी नरोकिएसम्म र खोला नघटेसम्म स्कुल नपठाउन अभिभावकलाई आग्रह गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रमणि लिम्बूले बताए ।

यो खोलो तरेर आउने विद्यार्थीले तर्ने उपाय नभएकाले अभिभावक र विद्यार्थीलाई पनि फोन गरेर नपठाउन र नआउन भनेको उनले जानकारी दिए । पाथीभरा मन्दिर छेउबाट बहने खोलामा लेकमा पानीपर्दा पनि बाढी आउने गरेको छ । पानी पर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्रै यातायात सञ्चालन, विद्यालय नियमितता लगायतका विषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित