छैटौ पटक मन्त्री बनेका मनाङे भन्छन्–यस्तै भए २० पटक मन्त्री बन्छु

‘मेरो काम सरकार जोगाइ दिने मात्रै हो, म पार्टी होइन’

पोखरा । गण्डकी प्रदेशमा छैटौं पटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) ले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने प्रतिक्रिया दिएका छन् । आज (मंगलबार) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका मनाङेले केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री मनाङेले आफू रहरले नभइ बाध्यताले पटक–पटक मन्त्री हुनुपरेको बताएका छन् । ‘यो समस्या यहाँको होइन, केन्द्रको हो । कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो । यहाँ सांसदहरूले भोट हालेका हुन् । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नु पर्ने हुन सक्छ,’ उनले भने ।

मनाङेले मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि कांग्रेस नेतृत्वको सरकारलाई रोजेको बताएका छन् । ‘मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ उनले भने ।

मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौं नि ! हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?’ ‘म यो ६ पटकसम्म कुनै पुरस्कार पाउन मन्त्री भएको होइन । बाध्यता हो नि यार ! कांग्रेसको सरकारमा पहिलो पटक आउँदा मलाई यो लामो समयसम्म जान्छ जस्तो लाग्यो । तर सपोर्टर पार्टीहरू आइदिएनन् । नआइ दिएपछि म एक्लैले के गर्ने ? मेरो काम भनेको त सरकार जोगाइ दिने मात्रै त हो । किन भने म पार्टी होइन,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित