यातायातका उपसचिव भट्टराई भ्रष्टाचारी ठहर : तीन महिना कैद र १४ लाख ७४ हजार जरिवाना

काठमाडौं । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।

उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ । भट्टराईलाई तीन महिना कैद र बिगो बमोजिम जरिवाना हुने गरी फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । आरोप पत्रमा उल्लेखित सम्पत्तिबाट उक्त बिगो बराबरको सम्पत्ति जफत हुने गरी फैसला बहेको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

भट्टराई र उनको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दा उनले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै मुद्दा दायर गरिएको थियो । त्यसका साथै उपसचिव भट्टराईले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्ति समेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित