सदनमा सांसद शाहीको प्रश्न : आकाश–पाताल खोजेर पनि ल्याउँछु भन्नु हुन्थ्यो, खोई जीबी राई ?

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीका आरोपित जीबी राईलाई सरकारले देशभन्दा पनि माथि राखेको आरोप लगाएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले ठूला फाइल खोल्छौं भन्ने सरकारले राईलाई नेपाल देशभन्दा पनि माथि राखेको बताए । ‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडी जस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ?’

शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जीबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो । खोई खोजेको हो ?’ शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा जाँदा प्रदेशका मुख्यमन्त्रीको जति पनि सम्मान नपाएको बताए ।

‘भारतमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री सरह सम्मान भयो, किन ?’

सांसद शाहीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान नभएको बताएका छन् । सांसद शाहीले भारतमा प्रधानमन्त्रीलाई दिइएको सम्मानमाथि प्रश्न उठाएका हुन् । उनले कुनै प्रदेशको मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीको शपथमा हाजिर गर्न गएको जस्तो देखिएको बताए ।

‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ । भारतले गरेको आत्मसम्मान त्यो प्रधानमन्त्रीलाई गरेको हो कि नेपाललाई गरेको हो ?,’ उनले भने, ‘त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित