गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गरेका फणिन्द्र र मनाङे मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणिन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ) ले आज मन्त्रीको शपथ लिँदै छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने स्रोतले जानकारी दियो । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् ।

त्यस्तै स्वतन्त्र सांसद दिपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । शुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।

मनाङेले मंगलबार पुनः एक पटक सोही मन्त्रालयको पद तथा गोपनीयताको शपथ लिन लागेको स्रोतले जानकारी दिएको छ । त्यस्तै यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।

नेपाल समाजवादी पार्टी भने पनि माओवादीले देवकोटालाई आफ्नो दलको ह्वीप लाग्ने दाबी गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । तर, देवकोटा आफू नेसपाको सांसद रहेको र पार्टीकै निर्देशन अनुसार अगाडि बढेको जिकिर गरेका छन् । गोरखा २ (क) बाट निर्वाचित देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए । उनलाई मुख्यमन्त्री पाण्डेले मंगलबार नै मन्त्रिपरिषदमा समेट्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित