गृहमन्त्री बिराटनगर आएकै बेला कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी

इटहरी । मोरङको रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगो लगाई दिएका छन् ।

मोरङ विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले आइतवार विहान कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा तोडफोड र आगजनी गरेका हुन् । गृहमन्त्री रवि लामिछाने विराटनगर आएकै बेला आगजनी भएको छ ।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यही विरोधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोडपछि आगजनी गरेका हुन् । निजी स्कुलहरुले मनपरी शुल्क असुलेको विरोधमा गत बिहीबार विद्यार्थी समूहले रंगेली नगरपालिका तोडफोड गरेको प्रहरीले जनाको छ ।

निजी विद्यालयहरूले आफूखुसी कानून विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र विद्यार्थीहरू गएका थिए । सो क्रममा उनीहरूले दुर्व्यवहार गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित