आठ बुदे घोषणापत्र जारि गर्दै मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको तेस्रो सम्मेलन सम्पन्न

झापा । मानवअधिकार रक्षकहरुको हक, हित र संरक्षण गर्न गठित मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको शनिबार झापाको बिर्तामोडमा सम्पन्न तेस्रो सम्मेलन आठ बुदे घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले झापाका बिष्णुप्रसाद खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

खरेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा मोरङकी मंजीता उपाध्याय, महासचिवमा सुनसरीका कमल कोइराला, सचिवमा झापाका दिपक दास र कोषाध्यक्षमा इलामकी दिपा आचार्र्य निर्वाचित हुनुभएको निर्वाचन समितिका प्रमुख मनोहर पोखरेलले जानकारी दिनुभयो । 

यसैगरी सदस्यहरूमा कविता बाँस्तोला (झापा), बासुदेव अधिकारी (मोरङ), चञ्चला सुब्बा (लौंगिक तथा यौनिक अल्पसंख्यक), डा. रूपक खनाल (झापा), विनोद खतिवडा (उदयपुर), तारा घिमिरे (मोरङ), कुमार चुडाल (झापा), कविता सदा (सुनसरी), तोया सुब्बा (मोरङ) र दिपेन्द्र कुमार झा (सुनसरी) रहनुभएको छ ।

निर्वाचन समितिका प्रमुख मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न पदास्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष खरेलले मानव अधिकार रक्षकहरुको जोखिमयुक्त भूमिकालाई सवल, उत्तरदायी, संगठित र पारदर्शी बनाउन परिषद्ले भूमिका निर्वाह गर्ने बताउनु भयो । मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार रक्षक परिषद्लाई साझा मञ्चका रुपमा उपयोग गरिने उहाँले बताउनु भयो । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले उद्घाटन गर्नुभएको सम्मेलनमा उदयपुर निवासी वरिष्ठ अधिकारकर्मी भरत खडकालाई प्रंशसापत्रसहित १५ हजार नगद राशीबाट सम्मान गरिएको छ । उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै प्रदेश मन्त्री अधिकारीले मानव अधिकार रक्षकहरूको सशक्त भूमिका सरकारका लागि सधै सहयोगी हुने कुरामा जोड दिनुभयो ।

उद्घाटन समरोहमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख पवन भट्ट, परिपद्का प्रमुख सल्लाहकार कोषराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष मंजीता उपाध्याय, मानव अधिकार रक्षक सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नु भयो । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा कोशी प्रदेशका १० जिल्लाका एक सय ४५ मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित