मोरङको रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, कार्यवाहक मेयर र प्रशासकीय अधिकृतलाई पनि दुर्व्यवहार

मोरङ । मोरङमा विद्यार्थीको समूहले रङेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुन विपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै नगरपालिका पुगेका उनीहरूले नगर प्रहरीमाथि आक्रमण गरेका हुन् ।

विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगर प्रहरीहरू घाइते भएका छन् । उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रङेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रङेली–७ का १८ वर्षीय रमणकुमार राय, रङेली–८ का १९ वर्षीय विषेक झा र रङेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।

प्रहरीका प्रवक्ता डिएसपी बस्नेतका अनुसार विद्यार्थीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुन विपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूहले हातपात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित