मधेशको तेस्रो मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त

सबै मन्त्रीको एकैसाथ शपथ, कुन दलबाट को–को बने मन्त्री ?

जनकपुर । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी छन् । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएका सिंह शुक्रबार बिहान १२ बजेर २१ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

एक विशेष समारोहबीच प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई शपथ ग्रहण गराउने तयारी भएको छ । मुख्यमन्त्रीमा सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डल समेत गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री सिंहले शपथ लिने समारोहमा नै सबै मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराइने माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँट भएको छ । अर्थ मन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुँदैछन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव(महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ । एमालेको भागमा स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय पनि परेको छ । एमालेले यी तीन मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ । यस्तै, जनमत पार्टीको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।

प्रतिक्रिया

सम्बन्धित