मधेसमा साढे ६ वर्षपछि ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । आज (बुधबार) मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

बुधबार पाँचौं पटक विश्वासको मत मागेकोमा उनको पक्षमा ५० जनाले मात्र मतदान गरेका छन् । हाल १०६ जना प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा बहुमतका लागि ५४ जना सदस्यको समर्थनको आवश्यकता रहेकोमा उपस्थित रहेका १०३ जनामध्ये उनको पक्षमा ५० जनाले मतदान गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीको पक्षमा बुहमत सदस्यले मतदान नगरेकाले उनले पेश गरेको प्रस्ताव पारित नभएको घोषणा गरे । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक-एक सिट छ ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौ पटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनु परेको छ ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । उनले बुधबार पाँचौं पटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । तर बहुमतले अस्वीकृत भएको छ । योसँगै मधेसमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित