मधेस सरकारबाट बाहिरियो नेकपा एस, समर्थन पनि फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेसमा एकीकृत समाजवादीका दुई मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले जानकारी दिइन् ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए । यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो । एमालेसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए । उनकाअनुसार नयाँ सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित