सुनसरीमा बालिकाको शङ्कास्पद मृत्यु : सुटुक्क दाहसंस्कार गरेपछि प्रहरीले थाल्याे अनुशन्धान

इटहरी । सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त घटनामा प्रहरीलाई जानकारी समेत नदिई स्थानीय जनप्रतिनिधि, अभिभाव र छिमेकीहरूले पोष्टमार्टम र प्रहरीलाई जानकारी समेत नदिई दाहसंस्कार गरेकाले बालिकाको हत्या भएको आशङ्का गरिएको हो ।

प्रहरीले तीन दिनपछि मात्रै घटनाबारे जानकारी पाएपछि यस विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । प्रहरी उपरीक्षक भण्डारीले बालिकाले हत्या गरेको वा आत्महत्या के भएको हो ? आफूहरूलाई जानकारी नदिएकाले थाहा भएन तर अनुसन्धानका लागि प्रहरी अधिकृत खटाइसकेकाे बताए ।

स्थानीयका अनुसार लक्ष्मीको गाउकै सुरेश सरदारसँगको प्रेमसम्बन्ध रहेको र त्यसको विषयमा दुई परिवारका बिच विवादका कारणले हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । हरिनगर गाउँपालिका ७ का वडा अध्यक्ष मोजोपमिल खाँले समेत बालिकाको मृत्यु बारेमा थाहा नभएको र सुरुमा कालगतीले मरेको सुनिएको तर सबै कुरा आफूलाई जानकारी नभएको बताए । वडा अध्यक्ष खाँले पछि बुझ्दा घुस्कीमा एक बालिकाले आत्महत्या गरेको सुनिएको बताए ।

मृतककी आमा रम्भा सरदारले आफू मकै भित्र्याउन गएको बेला छोरी झुण्डिएको थाहा  पाएको प्रतिक्रिया दिइन ।उनले मृत्युको बारेमा आफूलाई थाहा नभएको र जनप्रतिनिधिहरूले प्रहरीमा जानकारी दिनुपर्ने भनेकाले दाहसंस्कार गरेको दाबी गरिन ।

प्रहरी कार्यालयमा भने निवेदन वा जाहेरी केही परेको छैन । नागरिक समाजका व्यक्तिहरूले भने सीमावर्ती क्षेत्रमा भएको घटना हत्या हुन सक्ने आशङ्कासँग जोड्दै सूक्ष्म छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित