झापाकाे बाहुनडाँगीबाट एकै पटक ६५ वटा हात्ती गाउ पस्याे ...

झापा । नेपाल–भारत सीमा झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा शनिबार राति ६५ वटाभन्दा बढी हात्ती नेपाल प्रवेश गरेर एउटाबाहेक अरू बिहान भारत नै फर्केका छन् । हात्ती सूचना केन्द्र बाहुनडाँगीका अनुसार मेचीनगर नगरपालिका–४ को प्रसादगौँडामा ६५ वटा हात्ती देखिएका हुन् ।

राति पानी परेका बेला नेपाल छिरेका हात्ती बिहानपख जताबाट आएका थिए त्यतै फर्किएको हात्ती सूचना केन्द्रका शङ्कर लुइटेलले जानकारी दिनुभयो । मानव–हात्ती द्वन्द्व न्यूनीकरणका क्षेत्रमा क्रियाशील रहनुभएका लुइटेलका अनुसार एउटा हात्ती नेपालको स्थानीय सामुदायिक वनमा पसेको छ । 

धेरै सङ्ख्यामा नेपाल प्रवेश गरेका हात्तीले भौतिक र मानवीय कुनै पनि क्षति नगरेको जनाइएको छ । एकैसाथ ६५ वटा हात्ती नेपाल छिरेपछि बाहुनडाँगी क्षेत्रमा उच्च सतर्कता अपनाउन हात्तीको रेखदेख गरिरहेका स्वयंसेवकले स्थानीयलाई सचेत गराएका थिए ।

सीमामा दिनहँुजसो धेरै सङ्ख्यामा हात्ती देखिने गरेको छ । मेची किनारमा हात्ती देखिने गरेको र नेपाल प्रवेश गर्न खोज्दा -यापिड रेस्पोन्स टिम (आरआरटी) ले हात्तीलाई जताबाट आएको त्यतैतिर फिर्ता गराउने गरेको छ । हात्तीको चहलपहल र अवस्था बुझ्न र मानव–हात्ती द्वन्द्व घटाउन नेपाल र भारततर्फ दुवै देशका युवा रहेको -यापिड रेस्पोन्स टिम (आरआरटी) बनाइएको छ ।

यसभन्दाअघि ठुलो सङ्ख्यामा झापा छिरेका हात्ती एक वर्ष बित्न लाग्दा पनि भारत फिर्ता भएका छैनन् । पूर्वी नेपालका विभिन्न सामुदायिक वनमा दर्जनौँ हात्ती बसिरहेको लुइटेलले जनाउनुभएको छ । नेपाल र भारत सीमा मेची खोलासँग जोडिएको भारततर्फको जङ्गलमा बसेका हात्ती नेपाल छिर्ने प्रयासमा छन् ।

“दुई चार वटा हात्ती नेपाल छिर्ने र फर्कने सामान्य भइसक्यो,” मेची नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले भन्नुभयो । पछिल्लो समयमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका विषयमा बाहुनडाँगीवासी जानकार भएकाले यसलाई सामान्य रूपमा लिइने अवस्था बनिसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित