राजनीतिमा लागेका शिक्षकलाई कारवाही गरे संगठित प्रतिकार गर्ने घोषणा

काठमाडौं । पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताको आरोपमा शिक्षकहरुमाथि कारवाही भए संगठित प्रतिकारमा उत्रने चेतावनी दिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको कारवाही गर्ने अभिव्यक्तिले शिक्षकहरुमा आतंक छाएको भन्दै महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रह राखेर शिक्षकहरुमाथि कारवाही भए देशभर संगठित प्रतिकार गर्ने चेतावनी दिएको हो ।

‘जनतालाई चेतना र जागरणको उर्जा संचार गर्ने, जनताको हक र अधिकार प्राप्तिको आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने शिक्षक वर्गलाई राजनीतिक संलग्नताको आरोप लगाउँदै कारवाहीको आतंक सिर्जना गर्ने माननीय सुमना श्रेष्ठको अभिव्यक्ति र व्यबहारको यो बैठक भर्त्सना गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यस किसिमको अभिव्यक्ति र कार्वाहीलाई संगठित रुपमा प्रतिकार गर्ने र शिक्षण पेशाप्रति अझ थप निष्ठा र ईमान्दारिताका साथ प्रस्तुत हुने । शिक्षकहरुको आत्मसम्मान कदर गर्न र मनोवल उच्च राख्न यस किसिमका गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन यो बैठक शिक्षा मन्त्रीलाई आग्रह गर्दछ, साथै सबै राजनीतिक दलहरुलाई उपरोक्त विषयमा गम्भीर रहन ध्यानाकर्षण समेत गर्दछौं ।’

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूलाई साथ नदिएपछि पूर्वाग्रह राखेर मन्त्री श्रेष्ठले कारवाही गर्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै विगतमा जस्तै शिक्षकहरुले मुलुक ठप्प पार्ने दिन आउन सक्ने चेतावनी दिए ।‘जिम्मेवार पदमा बसेपछि विना विश्लेषण र अनुसन्धान पोलिटिकल स्टन्टवाजका लागि लोकरिझ्याईंकै लागि अभिव्यक्ति दिने कुरा गलत छ’ ढकालले प्रश्न गरे, ‘अहिले मुलुक गणतान्त्रिक अभ्यासमा हिंडिरहेको छ ? यसमा अहिले के अबरोध सिर्जना भयो, मन्त्रीहरुकै भाग खोस्ने गरी शिक्षकहरुले कहाँ, कसरी राजनीति गरे ?’

शिक्षकहरुले गाउँगाउँमा चेतना र जागरण पैदा गर्ने काम गरेको भन्दै ढकालले अहिले नै शिक्षकहरुमाथि कारवाहीको प्रसङ्ग उठ्नु गम्भीर विश्लेषण गर्ने विषय भएको बताए । ‘शिक्षकलाई पढाउनका लागि प्रोत्साहित गर्नुपर्ने, मनोवल उठाउनु पर्ने ठाउँमा हतोत्साहित गर्ने काम भइरहेको छ । यसमा हाम्रो घोर आपत्ति छ । मैले सामान्य ढंगले मात्र भनेको छैन, शिक्षकहरुले फेरि पनि मुलुक ठप्प बनाउने स्थिति नआओस्’’ चेतावनीको शैलीमा ढकालले भने, ‘कुर्चीमा पुग्न शिक्षकको सहयोग लिने तर कुर्चीमा पुगेपछि आँखै नदेख्ने ?’ ढकालले भने ।

टेरामेक्स जोडिएका पदाधिकारीलाई संरक्षण गरेर उज्यालो ज्योती फैलाउने शिक्षकमाथि कारवाही गर्न खोजेको भन्दै ढकालले थप चेतावनी दिए, ‘अरिङ्गालको गोलोमा ढुंगा हान्ने काम नहोस् ।’ महासंघले विद्यालय शिक्षक ऐन, संघीय निजामती ऐन पास गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै, पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित