आन्तरिक रोजगारीलाई बढावा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला'

काठमाडौं । आन्तरिक रोजगारीलाई बढवा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला' आयोजना गरिएको सरकारले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन श्रमाधान रोजगार मेला आयोजना गरिएको बताएका हुन् ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उदेश्यले मेला आयोजना गरिएको उनले बताए । 'मेलाको मुख्य उदेश्य भनेको रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजाने हो । त्यस्तै सीप तथा क्षमता विकासका सम्भावना र त्यसका उपयोगको बारेमा तालमेल गर्ने र समग्रमा हामीले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि भूमिका खेल्ने उद्देश्य हो,' उनले भने ।

मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने अपेक्षा मन्त्रालयको छ । 'यसपटकको रोजगार मेलामा जति कामको खोजीमा रहेका युवा आउनुहुन्छ सबैले अपेक्षाअनुसारको रोजगारी पाउनुहुन्छ भन्ने सोचेका छैनौं । मेलाले पक्कै केही रोजगारी सिर्जनामा सघाउँछ । आगामी दिनमा यो मेला रोजगारदाता र रोजगारी खोजिरहेकाहरूका लागि मिलनबिन्दु हुनसक्छ भन्ने अपेक्षा छ,' उनले भने ।

मेलामा श्रमिकहरू तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्ने छन् । यससँग सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा आएका गुनासा सुनेर समाधानका लागि उपाय निकाल्ने वातावरण बन्ने उनको भनाइ छ । मेलाको उदेश्य आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि भएको सहसचिव रिजालले उल्लेख गरे ।

'वैदेशिक रोजगारीको सन्दर्भमा कतिपय कुरा तल्लो तहसम्म पुर्‍याउन पनि नसकेको होला त्यो खालको सूचना सन्देश हामीले सम्प्रेषण गर्छौं । ठगी भइरहेका छन् भने त्यसको गुनासो पनि संकलन गर्ने काम मेलाबाटै गर्छौं । कहाँनेर सुधार गर्नुपर्ने छ पत्ता लागिसकेपछि समाधानमा पनि सहज हुन्छ,' उनले थपे ।

यसका लागि वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष विभिन्न म्यानपावर कम्पनीका छाता संगठनले पनि मेलामा स्टल राख्ने उनको भनाइ छ ।

मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहनेछ । सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले मेलामा स्टल राख्नेछन् ।

मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते मेला चल्नेछ ।

मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते मेला आयोजना हुनेछ । गण्डकीको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णालीको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते त्यस्तै बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

आगामी वर्षहरूमा यो मेलालाई धेरै तयारी गरेर थप व्यवस्थित गर्ने गरी मन्त्रालयले योजना बनाएको सहसचिव रिजालले बताए । 'आगामी वर्षको बजेटमा पनि हामीले यो कार्यक्रम प्रस्ताव गरेका छौं । हाम्रो परिकल्पना सबै स्थानीय तहसम्म यो कार्यक्रम पुर्‍याउनुपर्छ भन्ने हो,' उनले भने ।

प्रतिक्रिया

सम्बन्धित