पाँचथरमा नेपालकै सबै भन्दा अग्लो र ठुलो बुद्धको मूर्ति स्थापना

पाँचथर । पाँचथरको मिक्लाजुङमा  नेपालकै सबै भन्दा अग्लो र ठुलो बुद्धको मूर्ति निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा मिक्लाजुङ ४ जरिबुटे डाँडामा उक्त मूर्ति स्थापना गरिएको हो । तीन करोड लगानीमा निर्माण गरिएको बुद्धको मूर्ति ५३ फिट अग्लो रहेको छ ।मूर्ति धातुबाट निर्माण गरिएको छ ।

मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो (मौसम)ले यो मूर्ति नेपालकै सबै भन्दा अग्लो र ठुलो भएको दाबी गरेका छन् ।

मूर्ति निर्माणका लागि सरकारले २०७६ सालमा बोलपत्र आह्वान गरी सम्झौता पश्चात काम सुरु गरेको थियो । २०७९ साल माघ ३० गते निर्माण कार्य सम्पन्न भएको मूर्तिको अनुहार माओवादी नेता अग्नीप्रसाद सापकोटाको जस्तै बनेकाले सच्याउन माग भएपछि पुनः सुधार गरेर शुक्रबार  बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको छ ।

गाउँपालिकाले जरिबुटे डाँडामा बुद्धको मूर्तिसहितका संरचना बनाएर पर्यटन प्रवर्धन गर्ने योजना बनाएसँगै यहाँ यत्तिको ठुलो र अग्लो मूर्ति निर्माण गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । मूर्ति निर्माणको काम काठमाडौको स्कर्लभर्चज प्रा.लि.ले जिम्मा लिएको थियो । 

जरिबुटे क्षेत्र सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ । जरिबुटे डाँडो वनस्पतिक तथा जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ । 

प्रतिक्रिया

सम्बन्धित