राजनीति र प्रशासनबिचकाे टकराबले थला पर्याे धरान : विकाशका कामहरू सबै प्रभावित

धरान ।  राजनीति र प्रशासनलाई एकअर्काका परिपूरक भन्ने गरिन्छ । दुवैको लक्ष्य राष्ट्रिय हितको अभिवृद्धि र नागरिकलाई सुखी राख्नु हो । त्यस अर्थमा पनि एकअर्काको समन्वय र सहकार्य अनिवार्य हुन्छ तर धरानमा भने राजनीति र प्रशासनको अन्तरसम्बन्ध त्यति सहज बन्न सकिरहेको छैन । 

धरान उपमहानगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । सामाजिक विकास महाशाखाकी प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएकोमा उहाँ पनि केही समययता बिदामा हुनुहुन्छ । धरानमा प्रशासकीय अधिकृत नटिक्नुको प्रमुख कारण जनप्रतिनिधिसँगको टकराबलाई लिने गरिन्छ । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो आधिकारिक फेसबुक पेज (हर्क साम्पाङ अ रिभोलुसन) बाट आफूलाई मन नपर्ने कर्मचारी र विभिन्न मानिसको बारेमा जथाभावी भन्ने, लेख्ने र बोल्ने गरेका कारण पनि धेरै कर्मचारी असन्तुष्ट छन् तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । कतिपय विषय भने सार्वजनिक रूपमै आएका छन् । हालै मात्र नगर प्रमुख साम्पाङसँगको विवादका कारण प्रशासकीय अधिकृत निरौला बिदामा बसेको सार्वजनिक भएको थियो ।

त्यसो त धरान उपमहानगरपालिका मात्र होइन अन्य क्षेत्रका कर्मचारीसँग पनि नगर प्रमुख साम्पाङको विवाद बेला बेलामा सार्वजनिक भइरहन्छ । केही समयअघि टेलिकमका कर्मचारी शिव धमलासँगको विवाद होस् या इलाका प्रहरी कार्यालय धरानका तत्कालीन डिएसपी नवराज मल्लसँगको विवाद सार्वजनिक भएका थिए ।

कानुनी हिसाबले राजनीतिकर्मी र प्रशासनबिचको सम्बन्धलाई सुमधुर र समन्वयकारी बनाउन केही व्यवस्था गरिएको भए पनि व्यवहारमा भने दुवैले आफ्नो गन्तव्य र भूमिका पहिल्याउन नसकेकोे राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा बताउनुहुन्छ । 

डा. शर्मा भन्नुहुन्छ, “जहाँ राजनीतिक कानुन र पद्धति अनुसार चल्छ त्यहाँ प्रशासनले पनि कानुनी पद्धति अपनाउँछ । हाम्रो मुलुक सङ्व्रmमणकालीन अवस्थामा छ । राजनीतिक रूपमा हामीले पाएका उपलब्धि संस्थागत गरेर प्रणाली बसाउन नसक्नु नै राजनीतिक नेतृत्वको कमजोरी हो ।” धेरैजसो राजनीति गर्ने अनैतिक ढङ्गले सम्पत्ति कमाउने उद्देश्यमा लागेको र प्रशासन पनि नेता खुसी पार्न लागि परेका कारण राजनीतिले प्रशासनलाई र प्रशासनले राजनीतिलाई प्रभावित पारिरहेको डा. शर्माको भनाइ छ । 

स्थानीय सरकारलाई धेरै वटा ऐन बनाउने अधिकार दिइए पनि धरानमा अधिकांश काम तोक आदेशकै भरमा चलाउने गरेको पाइन्छ । यसरी ‘सिस्टम’ बिना नचल्दा धरानमा प्रशासनिक क्षेत्रमा अराजकता बढेको डा. शर्माको भनाइ छ । 

धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई धरानमा पछिल्लो समय जनप्रतिनिधि र प्रशासनबिचको समन्वय शून्य रहेकाले विकासमा प्रभाव परिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रशासनका कर्मचारीहरू पहिला धरान आउन कति आतुर हुन्थे तर आजभोलि प्रशासन प्रमुखबिना नै धरान चलिरहेको सुन्दा दुःख लाग्छ । यसले धरानको विकासलाई पछाडि धकेलिरहेको छ ।”

स्थानीय तहको सफलता र असफलता राजनीतिज्ञ र प्रशासकको सुमधुर सम्बन्ध र सन्तुलित भूमिकामा निर्भर हुन्छ तर फरक राजनीतिक आस्था भएका राजनीतिज्ञ र प्रशासकबिच आपसी द्वन्द्व र बेमेल हुनु स्वाभाविक जस्तै भएको निवर्तमान प्रमुख राईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आपसी समझदारी, जनउत्तरदायित्व र कानुनी तथा प्रशासनिक मूल्यमान्यताको आधारमा सुल्झाएर अगाडि बढ्नु नै उत्तम उपाय हो ।”

राजनीतिज्ञलाई प्रशासनको सहयोग चाहिन्छ भने प्रशासकलाई राजनीतिक समर्थन र रणनीतिक चित्र चाहिन्छ । दुवैपक्षले आआफ्नो सीमा, मूल्यमान्यता, विश्वास र संस्कृतिलाई आत्मसात् गर्दै असल शासनको प्रत्याभूति दिलाउन आआफ्नो मनोवृत्ति र व्यवहारमा सुधार गर्न सके मात्र धरानको विकास हुने निवर्तमान नगर प्रमुख राईको भनाइ छ ।

प्रशासनिक कानुनका जानकार अधिवक्ता दीपककुमार बुढाथोकी राजनीतिज्ञ र प्रशासक एकआपसमा जोडिएको हुने हुँदा राजनीतिज्ञ र प्रशासकलाई कडाइका साथ छुट्याउनु अनुत्पादक हुने बताउनुहुन्छ । नीति बनाउने र कार्यान्वयन गर्ने दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने र प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै रूपमा भए पनि शासन प्रव्रिmयामा उनीहरूको अन्तव्र्रिmया र पारस्परिक परिपूरकता सुमधुर रहेमा मात्र सुशासन कायम हुने अधिवक्ता बुढाथोकीको भनाइ छ । 

स्थानीय तह अझै जनमुखी र जिम्मेवार नबन्नुमा राजनीतिज्ञ र प्रशासनले एकअर्काप्रति राखेको धारणा नै प्रमुख कारण रहेको अधिवक्ता बुढाथोकी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रशासन र राजनीतिक क्षेत्रबिचको द्विविधा, अस्पष्टता र हस्तक्षेपको अन्त्य गर्न कानुनद्वारा नै राजनीति र प्रशासनको कार्य, भूमिका र जिम्मेवारी किटान गरिएको छ । त्यसलाई दुवैपक्षले पालना गर्ने हो भने धेरै समस्या आउँदैन ।”गाेरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित