साढे ३६ अर्बले घट्यो वैदेशिक व्यापार, आयातको हिस्सा ९१.१७ प्रतिशत

काठमाडाैं ।  नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गर्ने व्यापारमा ह्रास आएको छ। चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार ३६ अर्ब ६९ करोड १९ लाख १२ हजार रुपैयाँले घटेको हो। वैशाखसम्म नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख ८७ हजार रुपैयाँको भएको छ। सोही अवधिमा अघिल्लो वर्ष १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख ९९ हजार रुपैयाँको व्यापार भएको थियो। 

उक्त व्यापारमा नेपालले सो अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख २५ हजार रुपैयाँ थियो। तुलनात्मक रुपमा सो अवधिमा व्यापारघाटा २७ अर्ब २३ करोड ८९ लाख ३४ हजार रुपैयाँले घटेको हो। 

भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ। अघिल्लो आवको १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजारको आयात र १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँको निर्यात गरेको थियो। 

विभागका अनुसार आयात निर्यात अनुपात १०.३३ (१.२६ प्रतिशत) हुँदा कुल व्यापारमा निर्यातको हिस्सा ८.८३ प्रतिशत र आयातको हिस्सा ९१.१७ प्रतिशत छ। 

प्रतिक्रिया

सम्बन्धित