सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकजुट, सरकारमाथि थप दवाव

काठमाडौं । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । नेपाली कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको बैठक भर्खर सकिएको छ । आज (शुक्रबार) बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन ।

यस्तै बैठकमा एकीकृत समाजवादी सत्ता पक्षमै भएपनि बोलावट भएको थियो । तर, सो पार्टी अनुपस्थित रहेको थियो । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।

अब संसदीय समिति बनाउनु पर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्ता पक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो । त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् । प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन् । कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित