हराएकाे २० वर्ष पछि घर फर्किए बेलबारीका शमशेर : परिवारमा खुशी , श्रीमतीलाई चिन्ता

बेलबारी । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनु हुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।

शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ’, सीताले भनिन् । यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छिन् । शमशेरबहादुर बोल्न सक्दैनन् । उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ ।

कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताएँछन् । बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । ‘कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित