रूपन्देहिमा परिवारले अन्त्येष्टि गरेर गाडेको महिलाको शव प्रहरीले पाँच दिनपछि निकाल्यो, मृत्यु शंकास्पद

बुटवल । रुपन्देहीमा परिवारले अन्त्येष्टि गरिसकेको एक महिलाको शव पाँच दिनपछि खनेर निकालिएको छ । कोटहीमाई गाउँपालिका– ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएपछि रुपन्देही प्रहरीले फरेन्सिक विज्ञको सहयोगमा मर्चवारस्थित कब्रस्तानबाट पाँच दिनपछि शव निकालेको हो ।

सम्मरीमाई गाउँपालिका–२ मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको भन्दै जेठ २ गते रुपन्देही प्रहरीमा जाहेरी दिएका थिए । उनले प्रहरीमा दिएको जाहेरीमा ‘साहिदालाई उनका श्रीमान जलालुदिन मुसलमानले विभिन्न तरिकाले पीडित बनाई दुःख दिँदै आएकोमा वैशाख २७ गते रहस्यमयी ढंगले मृत्यु भएको’ उल्लेख गरेका छन् ।

रफिकले मृतकका श्रीमान र उनका परिवारले माइती पक्षलाई समेत जानकारी नदिई मुस्लिम परम्परा अनुसार सम्मरीमाई– ७ भगैयामा रहेको कव्रस्तानमा लगि दाहसंस्कार गरेकाले आफूलाई शंका लागेको जाहेरीमा उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीले लुम्बिनी प्रादेशिक अस्पतालबाट फरेन्सिक चिकित्सक डा. विप्लव मानन्धरको अनुगमन र निगरानीमा शव निकालिएको प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर पोष्टमार्टम गरी परिवारलाई बुझाइएको र घटनाका विषयमा अनुसन्धान अगाडि बढाइएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित