तराइका जिल्लामा अचाकली गर्मी , माैसमविद भन्छन तत्काल पानी पर्ने सम्भावना छैन

इटहरी । मौसम बदली र वर्षा हुने क्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर फेरि गर्मी बढेको छ। आकाशमा बादल लाग्न र पानी पर्न कम भएसँगै तापक्रम पुनः उकालो लागेको हो। 

गत हप्ता देशव्यापी रूपमा मौसम बदली र वर्षा हुँदा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस तथा जनकपुरको अधिकतम तापक्रम ३० डिग्रीसम्म झरेको थियो।

तर अहिले वर्षा हुने क्रम रोकिएसँगै फेरि उपत्यकाको तापक्रम झन्डै ३२ तथा जनकपुरको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म उक्लिएको हो। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियसमा उक्लिएको छ भने आज ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद्ले गरेका छन्। 

यसैगरी बुधबार जनकपुरको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस पुगेको छ भने आज ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दिनभर घाम लाग्न थालेपछि स्वाभाविक रूपमा फेरि तापक्रम बढ्न थाल्ने बताए। ‘जेठ महिना हो, बादल नलाग्ने र घाम लाग्ने भएपछि तापक्रम त बढिहाल्छ’, उनले भने।

उनले अब कम्तीमा ३ दिनलाई देशव्यापी मौसम बदली र वर्षा हुने सम्भावना नरहेको उनले बताए। ‘पहाडी भूभागमा मात्र मौसम बदली र हल्का वर्षाको सम्भावना छ’, उनले भने, ‘अन्यतिर आगामी ३ दिन खासै वर्षाको सम्भावना छैन।’

प्रतिक्रिया

सम्बन्धित