कांग्रेसको उपस्थिति बिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

इटहरी । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकमा विश्वास मतको प्रस्ताव राखेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता समेत रहेका कार्की वैशाख २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।कार्कीलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन् ।

कोशीमा एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद चाहिन्छ । कोशीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलको सोमबारको बैठकले सर्वोच्च अदालतमा मुख्यमन्त्रीविरूद्ध मुद्दा विचाराधीन रहेकाले मुख्यमन्त्रीले विश्वास मतका लागि प्रस्ताव राख्ने बैठकमै सहभागी नहुने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा केन्द्रको निर्देशन लिएर विराटनगर पुगेका थिए । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख र मुख्यमन्त्री लगायतविरूद्ध सर्वोच्चमा रिट हालेका थिए । कांग्रेसले नव नियुक्त मुख्यमन्त्री कार्कीलाई अहिले नै विश्वास मत नलिन आग्रह गरेको थियो । तर सत्ता पक्षले सोमबार नै विश्वास मत लिने गरी अघि बढेपछि कांग्रेसले प्रदेश सभा बैठक नै बहिष्कार गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि तटस्थ बस्ने भएको छ । यहाँ राप्रपाका सभामुखसहित ६ जना सांसद छन् । एकीकृत समाजवादी अहिले सरकारमा गएको छैन । तर संघीय सरकारदेखि अरू प्रदेश सरकारहरूमा एकीकृत समाजवादी पनि सामेल छ ।

यसअघि कांग्रेसका कार्की नेतृत्वको सरकारबाट एमाले, माओवादी र जसपा नेपालले समर्थन फिर्ता लिँदा पनि एकीकृत समाजवादी भने सरकारमै बसिरहेको थियो । कोशी प्रदेश सभाको सोमबारको बैठकमा कांग्रेसका सांसद अनुपस्थित छन् । संसदीय दलको बैठकले प्रदेश सभामा अनुपस्थित हुने निर्णय गरेको हाे । सर्वोच्च अदालतमा सरकार बारेको विवाद विचाराधीन रहेकाले विश्वासको मत अहिले नलिन कांग्रेसले गरेको प्रस्ताव एमाले र माओवादीले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित