इटहरी , धरान ,विराटनगर लगायतका सहरमा बिहानै देखि हल्का वर्षा , स्थानीयलाई राहत

इटहरी । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काेशी प्रदेशकाे धरान , इटहरी , बिराटनगर लगायतका सहरमा विहानै देखि हल्का वर्षा हुन थालेपछि केहि दिन यताकाे गर्मीबाट भने स्थानीयले राहत महसुस गरेका छन । 

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि (सोमबार) देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित