वाइवाइ : नेपालको गुणस्तरीय ग्लोबल ब्रान्ड

६ देशका १३ स्थानबाट वार्षिक ३ अर्ब प्याकेट उत्पादन, युरोप–अमेरिकामा निर्बाध बिक्री

काठमाडाैं ।  ‘म वाइवाइलाई संसारभरि पुर्‍याउँछु। कम्तीमा जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ’, मैले त्यतिखेरै निर्णय गरेँ, ‘ता कि विदेश जाने नेपालीले आफूसँगै ओसार्नु नपरोस्, सकिएला कि भनेर प्याकेट गन्दै खानु नपरोस्!’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले देखेको ‘त्यतिखेरको सपना’ अहिले त अझै पर पुगिसकेको छ।

दुबई विमानस्थलमा सामान कुरिरहेका बेला नेपालबाट वैदेशिक रोजगारीमा गएका युवाहरुले वाइवाइको कार्टन लगेको देखेपछि चौधरीले त्यो प्रण गरेका थिए। जसलाई यथार्थमा बदल्न सामान्य थिएन। तर गरे के नै असम्भव हुने रहेछ र! मनभित्रदेखि देखेको त्यो सपना आज यथार्थ बनेको छ। युरोप, अमेरिका हुँदै खाडी मुलुकदेखि अस्ट्रेलियासम्मका खाद्यस्टोरहरुमा वाइवाइको साम्राज्य फैलिएको छ।

यसरी बन्यो बहुराष्ट्रिय ब्रान्ड

वाइवाइको यो सफलताको यात्रा ४० वर्षअघि सुरु भएको थियो। यसको उत्पादन सुरुमा सन् १९८४ मा सीजी फुड्स कम्पनीले ललितपुरको भैँसेपाटीबाट थालेको थियो। उत्पादन थालेयता सीजी फुड्सले वाइवाइलाई विश्वब्रान्ड बनाउन निकै मिहिनेत गरेको छ।

सन् १९९३ मा नवलपरासीमा स्थापना गरिएको अल्ट्रा मोर्डन इन्डस्ष्ट्रियल पार्कमा स्थापित वाइवाइका प्लान्टहरु यसका उदाहरण हुन्। दक्षिण एसियामा एउटै छानोमुनि आधा दर्जन प्लान्टबाट नुडल्स उत्पादन हुने ब्राण्ड वाइवाइ मात्रै हो। इमानदार व्यवसायमा गुणस्तरीयता हुन्छ। र, त्यसले जनविश्वास बढाउँछ। वाइवाइले यतिका वर्षमा कमाएको जनविश्वास त्यसैको परिणाम बनेको छ।

माग बढ्दै जाँदा चौधरी ग्रुपले छिमेकी भारतको सिक्किममा सन् २००६ अप्रिल (२०६२ चैत)मै वाइवाइको उत्पादन थाल्यो। सीजी फुड्स इन्डियाको नाममा विदेशमा खोलिएको यो नै पहिलो कारखानाबाट हो, जहाँबाट अहिले वार्षिक ११ हजार टन तयारी चाउचाउ उत्पादन भइरहेको छ। यो भनेको वर्षको १२ करोड प्याकेट हो। त्यसपछि भारतको उत्तराखण्डस्थित रुद्रपुरमा पनि उत्पादन सुरु भयो।

आसाममा तेस्रो प्लान्ट खुल्यो भने भारतका अन्य राज्यहरुमा समेत वाइवाइका प्लान्ट विस्तार भए। सीजीले अहिले नेपालमै पनि वाइवाइ प्लान्ट विस्तार गरेको छ। काठमाडौंबाट शुरु भएको उत्पादन नवलपरासी हुँदै बर्दियाको बाँसगढी र सुनसरीसम्म फैलिइसकेको छ। नेपालमा अहिले १० वटा प्लान्टबाट वाइवाइ उत्पादन भइरहेको छ। युरोपमा सर्वियाबाट, एसियामा नेपाल र भारत, बंगलादेश र काजकस्तानबाट तथा मिडिल इस्टमा इजिप्टबाट वाइवाइ उत्पादन भइरहेको छ।

यसरी वाइवाइले विश्व ब्रान्ड बन्ने क्रममा धेरै देशको यात्रा तय गरेको छ। ६ देशका १३ स्थानबाट हाल वाइवाइ उत्पादन भइरहेको चौधरी ग्रुपको भनाइ छ। भारतीय बजारमा त वाइवाइले ठूलै हिस्सा ओगट्न सफल भएको छ। भारतको विशाल बजारमा वाइवाइ दोस्रो ठूलो नूडल्स ब्राण्ड हो। नेस्लेको म्यागीसँग वाइवाइले सफलतापूर्कक बजारमा प्रतिस्पर्धा गरिरहेको छ।

भारतमा वाइवाइ धेरै बिक्री हुने चाउचाउमध्ये पर्छ। नेपाल चिनाउने गुणस्तरीय खाद्य प्रोडक्ट वाइवाइ ग्लोबल ब्रान्ड बन्दा आफैँमा एउटा नेपाल चिनाउने खाद्य प्रोडक्ट बन्न सफल भएको छ। विश्वबजारमा वाइवाइ वार्षिक ३ अर्ब प्याकेट उत्पादन र सोही अनुपातमा खपत समेत भइरहेको चौधरी ग्रुपको भनाइ छ। नुडल्स क्याटेगोरीको राम्रो गुणस्तर पस्किन सक्नु वाइवाइको विशेषता हो। निर्बाध रुपमा युरोप र अमेरिकामा बिक्री हुनुलाई चौधरी ग्रुपले आफ्नो सफलताको रुपमा लिएको छ।

वाइवाइ उत्पादन गर्ने सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदिप पुडासैनी गुणस्तरमा कुनै कमी नभएको बताउँछन्। ‘वाइवाइ चाउचाउको गुणस्तरका विषयमा हामी निकै सम्वेदनशील छौँ’, उनी भन्छन्। हरेक देशको खाद्य वस्तुको गुणस्तर मापदण्ड हुने र सोहीअनुसारको उत्पादन कम्पनी र बिक्रेतालाई समेत देशको नीतिनियमले गाइड गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित