सुनसरीको सीमा नाका ७२ घण्टाका लागि बन्द

इटहरी : सुनसरीका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।

नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ ।

सुनसरी जिल्लासँग जोडिएका सीमानाका कोशी गाउँपालिकाको कोशी ब्यारेज, भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, वसन्तपुर, भोक्राहा नरसिंहको उल्टी, नरसिंह, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, साहेबगञ्जलगायत नाका बन्द गरिएको हो ।

नेपाली सीमानाकासँग जोडिएको भारतमा वैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवत–जावत निषेध गरिएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाअनुसार आइतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरू वैशाख २५ गते राति १२ बजेपछि मात्र खुल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित